तेस्रो साना सहरी खानेपानी आयोजनाको काम ठेक्का प्रक्रियामा

इलाम  : सदरमुकाममा ल्याउन लागिएको ८५ करोड रुपैयाँ लगानीको तेस्रो साना सहरी खानेपानी आयोजनाको काम ठेक्का प्रक्रियामा पुग्दैछ । २ सातापछि आयोजनाको सम्झौता हुने र त्यसपछि ठेक्काप्रक्रियामा जाने उपभोक्ता समितिले जनाएको छ ।
आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापन भएको उपभोक्ता समिति अध्यक्ष केदार थापाले बताए । ‘मुहान र विभिन्न स्थानमा राखिने टंकीको जग्गा व्यवस्थापन भएकाले अब सम्झौताको चरणमा पुगेका छौं,’ उनले भने, ‘जनसहभागिताको रकम पनि संकलन भइसकेको छ, केही थोरै रकम उठ्न बाँकी छ ।’ आयोजनाका लागि उपभोक्ताले उठाउनुपर्ने ४ करोड २१ लाख रुपैयाँ संकलन भएको र प्रत्येक उपभोक्ताबाट १५ हजार रुपैयाँका दरले रकम उठाएको उनले जनाए । इलाम नगरपालिकाले पनि २५ प्रतिशत ऋणका लागि जमानत बस्ने भएको थापाको भनाइ छ । ‘अब आयोजना पक्का बन्छ भन्ने भनेर ढुक्क हुने बेला भएको छ,’ उनले भने, ‘एसियाली विकास बैंक (एडिबी)का प्रतिनिधि केही दिनमै सम्झौताका लागि इलाम आउँदैछन् ।’

उपभोक्ता समितिका अनुसार आयोजनाका लागि ४ पक्षबीज सम्झौता हुनेछ । उपभोक्ता समिति, इलाम नगरपालिका, नगर विकास कोष र एडिबीले सम्झौतापत्रमा हस्ताक्षर गर्ने उनले बताए । ‘सम्झौतापछि ग्लोबल टेन्डर खुला गरिने छ,’ अध्यक्ष थापाले भने, ‘टेन्डर खुलाएर दसैंअघि नै फिल्डको काम सुरु गर्ने लक्ष्यसहित काम भइरहेको छ ।’
नगरपालिकाले नगर विकास कोषबाट कुल लागतको २५ प्रतिशत ऋण लिनुपर्ने प्रावधान आयोजनाको भएकाले नगरपालिकाले पनि त्यसको तयारी गरेको छ । नगर प्रमुख महेश बस्नेतले चालू आर्थिक वर्षको नगरसभाले सदरमुकामका लागि सञ्चालन गरिने आयोजनामा नगरले निर्वाह गर्नुपर्ने दायित्वबारे निर्णय गरिसकेको बताए । ‘अब उपभोक्ता समितिले काम अघि बढाउँछ, हाम्रो आवश्यकता परेका बेला हामीले गर्नुपर्ने सहयोग गर्छाैं,’ प्रमुख बस्नेतले भने ।

२० वर्षसम्म चौबीसै घण्टा खानेपानी दिनेगरी सञ्चालन गर्न लागिएको आयोजना अढाई वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ । ८५ करोड ४३ लाख ९ हजार रुपैयाँ लगानीको खानेपानी आयोजनाका लागि ५ प्रतिशत अर्थात् ४ करोड २१ लाख रुपैयाँ स्थानीय उपभोक्ताको लागत सहभागिताको रकम हो । २ हजार ७ सय ९८ धारा र घडेरीसहित करिब ३ हजार उपभोक्ताबाट कम्तीमा १५ हजार रुपैयाँका दरले रकम संकलन गरिएको छ । उपभोक्ताले १५ हजार रुपैयाँ सहयोग गरेवापत् आयोजनाले घर–घरमा धारा निःशुल्क जोडिदिने, बढीमा १२ मिटर पाइप पनि निःशुल्क गरिदिने उपभोक्ता समितिको प्रतिबद्धता छ । १ वर्षसम्मको मर्मतको जिम्मा पनि आयोजनाले नै लिने भएकाले उपभोक्तालाई सहुलियत नै हुने अध्यक्ष थापाको भनाइ छ । स्कुल, कलेज, सरकारी कार्यालय, संघ–संस्थालगायतबाट चाहिँ त्योभन्दा बढी रकम संकलन गरिएको उपभोक्ता समितिले जनाएको छ । एडिबीले कुल लागतको ७० प्रतिशत रकम बेहोर्नेछ भने २५ प्रतिशत रकम इलाम नगरपालिकाले नगर विकास कोषबाट सहुलियत ब्याजदरमा ऋण लिनेछ ।
योजनाको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार