वन्यजन्तुको दीर्घकालिन समाधान नहुँदा किसानलाई सास्ती

सुजता सुनुवार

इलाम : इलामका अधिकांश क्षेत्रमा बादरले बारीमा लगाएको बालीमा वर्षेनी क्षति गर्न थालेपछि किसानलाई सास्ती भएको छ ।

जिल्लाका १० स्थानीय तहमध्ये माईजोगमाई गाउँपालिका र सुर्योदय नगरपालिका बढी वन्यजन्तुको मारमा परेका छन् । माईजोगमाई गाउँपालिका वडा नम्बर ५ सोयाङ्गमा मात्र बाँदरले छ लाख बराबरको बालीमा क्षति पु¥याएको स्थानिय किसानको भनाई छ ।

किसानले लगाएको कृषि र नगरदेबाली मकै, सुन्तला, लिची, आँप, भुइकटर, रुखकटर, अम्लिसो, अलैची लगायतका बालीमा क्षति पु¥याउँदा छ लाख बराबरको क्षति पुगेको बताइएको छ ।

साविक सोयाङ्गका वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९ का किसानले लगाएका बालीमा बाँदरले दुःख दिँदा ८० घरपरिवार मारमा परेको किसान दिपजलन लिम्बुले बताए ।

उनले मारौ त कानुन लाग्छ, नमारौँ त फल्न नपाई बाली नष्ट पारिदिन्छ भन्दै गुनासो गरे । सरोकारवालासँग गुनासो पोख्दा हामी केही गर्न सक्दैनौ भन्ने जवाफ आउने उनी बताउँछन् । वन्यजन्तुको दिर्घकालिन समाधान नखोजिनुले फल्न नपाई लगाएको बाली नष्ट हुँदा गरिबीको संख्या बढेर जाने आशंका बडेर गएको छ ।

बाँदर मात्र होइन गाउँपालिकामा बँदेल, बाघ, भालु जस्ता वन्यजन्तु समेतले किसानलाई दुःख दिदा त्रास बढेर गएको छ । लगाएको बाली नष्ट गर्ने मात्र होइन बाँदर, बाघले मानिसलाई समेत आक्रमण गरेको छ । यसै वर्ष बाघले एक महिलालाई आक्रमण गरेर सक्त घाइते बनाएको छ भने बाँदरलाई खेदाउने क्रममा दुई महिलालाई घरैसम्म खेदाएर ल्याएको घटनाले स्थानियलाई घाँस दाउरा गर्न, खेतीपाती गर्न र घरपालुवा जनावरलाई जोगाइराख्न दिनहँु समस्या बढेर गइरहेको बताइएको छ ।

गाउँपालिका अध्यक्ष जितबहादुर राई भन्छन्, ‘यो समस्याबाट छुटकारा पाउने हामीसँग केही उपाय नै छैन । हाम्रो पहुच भन्दा माथिको कुरा भएकाले हामी नै पनि त्रासमा बस्न बाध्य छौँ ।‘

उनले भने, ‘नेपाल सरकारले स्थानीय तहले बनाएका निति नियम पालन गर्न नपाउने आदेश दिइसकेको छ । यसले पनि काम गर्नमा असहजता बढेर गएको छ ।’ सरकारले यसका लागि केही व्यवस्था मिलाउन सके भने मात्र यो समस्याको न्युनिकरण हुने भएकाले सरकारलाई सुचना दिन पहल भईरहेको अध्यक्ष राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार