मृगौला तस्करी हुने थलो बन्दै चितवन

प्रनिश थापा

चितवन : मेडिकल सिटीको रुपमा विकसित हुँदै गइरहेको चितवन जिल्ला पछिल्लो समय मृगौला तस्करी हुने थलोका रूपमा चिनिन थालेको छ ।

चितवनमा स्वास्थ्य सम्बन्धी विभिन्न अपराध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय भरतपुरले असार २५ गतेबाट ७ जनाको टोली बनाई मेडिकल रेस्पोन्स टिम बनाएको थियो । अन्ततः सोही टिमले चितवनबाट मृगौला तस्करी हुने गरेको फेला पारेको छ । प्रहरीले मृगौला तस्करी गर्ने पाँच जना गिरोहलाई पक्राउ गर्न सफल भएपछि यस क्षेत्र बाट मृगौलाको तस्करी हुने गरेको पाइएको चितवनका प्रहरी प्रमुख एसपी शुशील सिंह राठौरले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा नुवाकोटको पन्चकन्या गाउँपालिका ४ का ४१ वर्षीय हरि परियार भन्ने दुर्गा बहादुर दर्जी, रौतहटको चन्द्रपुर नगरपालिका ४ का ३५ वर्षीय बिक्रम पहरी, मकवानपुरको बकैया गाउँपालिका ५ का २८ वर्षीय प्रकाश तामाङ, मोरङको साविक बयरबन गाविस ६ का ३४ वर्षीय का दिपक लिम्बु र रसुवाको उतरगया गाउँपालिका ३ का २८ वर्षीय विशाल नेपाली रहेका छन् ।

मृर्गौला समूहका बिक्रम पहरी, प्रकाश तामाङ र दिपक लिम्बुलाई गत १ साउनमा चितवनबाटै, दुर्गाबहादुर दर्जीलाई सोही दिन काठमाण्डौंबाट र बिशाल नेपालीलाई  ४ साउनमा रसुवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस्ता घटनामा अन्य थुप्रै व्यक्ति संलग्‍न भएको हुन सक्ने भन्दै थप अनुसन्धान कार्य भईरहेको समेत जनाईएको छ । पक्राउ परेका दुर्गा परियार बाहेकका अन्यले अरु तस्करहरुको सम्पर्कबाट भारतको विभिन्न अस्पतालहरुमा गई १/१ वटा मृगौला बिक्री गरेको एसपी राठौर बताउँछन् । ‘दुर्गम क्षेत्रका मानिसहरुको अशिक्षा र गरिबीको गलत फाईदा उठाई उनीहरुलाई प्रलोभनमा पारी मृगौला बिक्री वितरण गर्ने र त्यसबाट उनीहरुले ५० हजार रुपैयाँ देखी झन्डै एक लाख रुपैयाँ सम्म कमिसन खाने समेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ‘ उनी भन्छन्, ‘सोझा सीधा तथा निमुखा सर्वसाधारणलाई प्रलोभनमा पारी भारतको विभिन्न अस्पतालहरुमा सम्पर्क गराई मृगौला तस्कर गर्ने गरेको खुल्न आएको छ, हामीले यस बिषयमा थप अनुसन्धान गरिरहेका छौं ।’

पक्राउ परेका व्यक्तिहरु उपर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार