माङसेबुङ गाउँपालिका अस्तव्यस्त

इलाम : भवनलगायत पूर्वाधार अभावमा माङसेवुङ गाउँपालिकालाई नियमित कामकारबाही सञ्चालनमा समस्या भएको छ । साविक इभाङ गाविसको कार्यालयमार्फत गाउँपालिकाले सेवा सञ्चालन गर्दै आएको छ ।

एक तले यो भवनमा गाउँपालिकाका सबै सेवा सञ्चालन गर्न कठिनाइ छ । ६ वटा वडा भएको गाउँपालिकाको कार्यालयमा दिनहुँ ठूलो भीड लाग्ने गर्छ । तर पर्याप्त र आवश्यकताअनुसार ठूला कोठा नहुँदा सेवा प्रभावमा समस्या रहेको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।

‘काम चलाउ मात्र छ,’ उनले भने, ‘जनप्रतिनिधिदेखि कर्मचारी र सेवाग्राही सवैलाई हैरानी छ ।’ केन्द्र कहाँ राख्ने भन्ने अन्योल भएकाले पनि गाउँपालिकालाई समस्या भएको हो । गाउँपालिकाको प्रस्ताव हुँदा १० किलोमिटर टाढाको चतुरे बजारमा सेवा केन्द्र राख्ने सहमति थियो । पछि धार्मिकस्थल माङसेवुङमा प्रत्यक्ष असर पर्ने भन्दै त्यस क्षेत्रका बासिन्दाले विरोध जनाए ।

अघिल्लो वर्ष चतुरेमा भवन निर्माणका लागि बजेट विनियोजन भए पनि निर्माण हुन सकेन । सरकारले गाउँपालिका घोषणा गर्दा तत्काल साविक इभाङ गाविसको कार्यालयबाट सेवा सञ्चालन गर्ने गरी तोकेको थियो । ठूलो वर्षा भएका बेला जस्ताको छानो भएकाले पनि काममा बाधा पुग्ने गरेको छ । गाउँपालिकाले प्रभाव गर्ने सवै काम एक मात्र पुरानो भवनले थेग्नु पर्दा सेवाग्राही पनि मारमा छन् ।

कार्यालय व्यवस्थापनका लागि चाहिने न्यूनतम स्थान पनि छैन । अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखालगायत सवै कक्षमा सेवाग्राहीको चाप उस्तै हुने गरेकाले काम सम्पादन गर्न पनि अवरोध हुने गरेको छ । गाउँपालिकामा रहने विषयगत कार्यालयलाई पनि उस्तै कठिन छ ।यसअघि शान्ति मन्त्रालयको सहयोगमा निर्माणाधीन भवनमाथि गाउँपालिकाले अर्को तला थपेर काम चलाउने सोच बनाएको छ । यो भवनमा अर्को तला थप्ने काम भइरहेकाले निर्माण सम्पन्न भएपछि केही सहज हुने गाउँपालिकाको विश्वास छ ।

जिल्लाकै विकट मानिएको यस क्षेत्रमा सेवाग्राहीहरू टाढाबाट आउने गरेका छन् । छिटोछरितो गरी काम सकेर जानुपर्ने अवस्थामा कार्यालय अस्तव्यस्त रहँदा कठिनाइ हुने गरेको लारुम्बाका सुमन लावती बताउँछन् । यो गाउँपालिकाका अधिकांश वडा भाडाका घरमा सञ्चालित छन् । साविक बाँझो, इभाङ र गजुमुखीलाई जोडर बनाइएको गाउँपालिकामा पुरानो गाविस भवन नरहेको स्थानमा पनि वडा तोकिएकाले भवनको समस्या भएको हो ।

माङसेबुङ गाउँपालिका २ नम्बर वडा कार्यालय

माङसेबुङ गाउँपालिका २ को वडा कार्यालय पनि गाउँपालिका भवनको अगाडि सानो कोठामा भाडा लिएर राखिएको छ । वडा कार्यालय र गाउँपालिका एकै स्थानमा भएकाले थप भीडभाड हुने गरेको छ । वडा भवन साँघुरो भएकाले कर्मचारीलाई बसेर राम्ररी काम गर्न पनि असहज छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार