अधिकृत नहुँदा माई नगरपालिकाको काम प्रभावित

राम योङहाङ

इलाम : इलामको माई नगरपालिकामा दुई अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ । लामो समयदेखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नहुँदा सेवाग्राही मार्कामा परेका छन् ।

अधिकृत नहुँदा नगरपालिकाको आर्थिक, प्रशासनिक कार्य, योजना सञ्चालन र सेवाप्रवाहमा समेत समस्या भएको छ । आर्थिक अनियमितता छानविनको क्रममा तत्कालिन प्रशासीकृत अधिकृत कालीदास ढकाल र लेखा अधिकृत रविचन्द्र ढकाल निलम्बनमा परेपछि नगरको काम प्रभावित भएको हो ।

नगरपालिकाको रमक अनियमितता गरेको आरोपमा तत्कालिन लेखा अधिकृत रविचन्द्र ढकाललाई गत वैशाखमा र प्रशासकीय अधिकृत कालीदास ढकाललाई जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको थियो । पक्राउपछि दुवै अधिकृत निलम्बित भएका छन् ।

प्रमुख प्रशासकिय अधिकृत कालिदासका स्थानमा उपसविच माधवप्रसाद ढकाललाई पठाईएको भएपनि कार्यालयमा हाजिर भएका छैनन् । अधिकृत नहुँदा नगरपालिकाको कुनै पनि काम अगाडि नबढेको नगरप्रमुख दीपककुमार थेवेले बताए ।

‘हामी जनप्रतिनिधि त नीति निर्माण गर्ने हो । त्यसको कार्यान्वयनका लागि आर्थिक तथा प्रशासनिक अधिकार कानुनले कर्मचारीलाई दिएको छ’ नगरप्रमुख थेवेले भने, ‘प्रशासकीय अधिकृत र लेखा अधिकृत नहुँदा नगरपालिकाको सबै काम ठप्प छ ।’ नयाँ अधिकृत हाजिर नभएसम्म नगरपालिकाको कुनैपनि काम गर्नु अवस्था नभएको प्रमुख थेवेको भनाई छ ।

ढकालद्वय यसरी परे फन्दामा

कोष तथा लेखा नियन्त्रकको कार्यालयका कर्मचारीले नगरको आन्तरिक लेखा परिक्षण गर्ने क्रममा तत्कालिन लेखा अधिकृत रविनचन्द्र ढकालले अनियमितता गरेको पाएका थिए । सो क्रममा गत वैशाखमै कार्यालयमा रिपोर्टिङ गरेपछि ढकाल सरुवा भएर गएको कार्यालय कटारी नगरपालिकामा पनि यस्तो हुने भन्दै सचेत गराइएको थियो । कटारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले अख्तियारमा छानबिनका लागि उजुरी गरेपछि ढकाल पक्राउ परेका थिए । नगरको आन्तरिक लेखा परिक्षणका क्रममा लेखा अधिकृत ढकालले संचित कोषमा जम्मा हुने रकम इण्डोर्स गरी आफ्नो नामको बंैक खातामा जम्मा गरेको पाइएपछि अख्तियारले गरको सबै सक्कल कागजात नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको थियो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार तत्कालिन लेखा अधिकृत रविचन्द्र ढकालले माइ नगरपालिकामा आर्थिक वर्ष २०७४/०७५ मा निकासा भएको संचित कोषको रकम एक करोड ४८ लाख ६३ हजार दुई भिन्नाभिन्नै मितिमा इण्डोर्स गरी आफ्नो नाममा रहेको व्यक्तिगत बंैक खातामा सारेका थिए । पहिलो चौमासिकमा निकासा भएको रकमबाट उनले १ भदौ २०७४ मा ४९ लाख ८७ हजार पाँच सय र दोस्रो चौमासिकमा निकासा भएको रकम २७ मंसिर २०७४ मा ९८ लाख ७६ हजार रुपैयाँ आफ्नो बैंक खातामा सारेका थिए ।

कोलेनिकाका अनुसार वित्तीय समानीकरण र सशर्त अनुदान अन्तर्गत संचित कोषमा जम्मा भएको रकम संचित कोषबाट चालु र पुँजीगत खातामा रकमान्तर गर्दा झुक्याएर ढकालले चालु र पुजीगतसँगै एक अर्को चेकबाट आफ्नो व्यक्तिगत बंैक खातामा जम्मा गरेको पाइएको छ । सो क्रममा ढकालले सामाजिक सुरक्षा तर्फको रकम वितरण गर्न भनी बैंक र प्रमुख प्रशासकीय अधिकृतलाई समेत झुक्याएको बताइन्छ । अनुसन्धानका क्रममा अख्तियारले नेपाल बैंक इलामका तत्कालिन प्रबन्धक मोहन निरौला समेत दुई जनालाई बयान लिएको छ ।

संचित कोषको रकम व्यक्तिगत ट्रान्सफर गर्ने ढकालको नियतपछि अनुसन्धानका क्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत कालिदास ढकाल समेत मुछिन पुगेका छन् । कालिदासको समेत मिलेमतो हो कि भन्ने आशंका र उनको कार्यालयको जिम्मेवारी रहने हुँदा अख्तियारले अनुसान्धानको दायरामा ल्याएको छ । स्थानीय तहको आर्थिक कारोबार प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको संयुक्त दस्तखतमा सञ्चालन हुने भएकाले कालीदास पनि सो घटनाबाट मुक्त भएनन् ।

नभएका कर्मचारीको नाममा समेत निकासा

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत ढकालद्वयकै पालामा एक सेवा निवृत्त र एक सरुवा भएका कर्मचारीको तलब समेत निकासा भएको पाईएको छ । अवकास प्राप्त खरिदार यामबहादुर बस्नेतको तलव भत्ता र सरुवा भएर अन्यत्र गएकी कर्मचारी कमला कार्कीको ४ लाख १५ हजार रुपैयाँ समेत निकासा गरी गाायव पारिएको जनाइएको छ । यस्तै विद्यालयको लागि निकासा भएको रकममा पनि करार शिक्षक भुक्तानीका नाममा अनियमितता भएको बताइएको छ । शिक्षामा भएको ८९ लाख ७६ हजार ४ सय २५ रुपैयाँ निकासा भएको तर यसको सबै निकासा भएका देखिएको छैन ।

लेखाअधिकृत ढकालद्वारा कटारीको पनि ४ करोड अनियमितता

तत्कालिन लेखा अधिकृत रविचन्द्र ढकालले माई नगरबाट सरुवा भएर गएको कटारी नगरपालिकाको ३ करोड ९७ लाख ५० हजार रुपैयाँ अनियमितता गरेको पाइएको छ । ढकालले कटारी नगरपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण प्रयोजनका लागि भन्दै २७ फागुनमा १ करोड ९८ लाख ७५ हजार र २६ चैतमा १ करोड ९८ लाख ७५ हजार रुपैयाँ आफ्नो व्यक्तिगत खातामा दाखिला गरेको बताईएको छ ।

आरोपित ढकालद्वय दोषी ठहरिए भ्रष्टाचार निवारण ऐन, २०४९ बमोजिम कारवाहीमा पर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार