खुला दिसामुक्त जिल्लामा सार्वजनिक शौचालय छैन

राम योङहाङ/प्रकाश नेपाल

इलाम : चार वर्षअघि तामझामका साथ इलामलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरियो । तत्कालिन शहरी विकास मन्त्री डाक्टर नारायण खड्काको उपस्थितीमा जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरियो । करिब ४० लाख रुपैयाँ खर्चेर खुला दिसामुक्त क्षेत्र घोषणासभा त गरियो, तर वास्तविक कार्यान्वयन भने हुन सकेन ।

विभिन्न दवावमूलक कार्यक्रमले जिल्लाबासीको घरमा त जसोतसो शौचालय बनियो । तर सार्वजनिक स्थानमा भने शौचालय बन्न सकेन । घरमा शौचालय बनेपनि सार्वजनिक स्थानमा शौचालय नबनेपछि खुला दिसामुक्त क्षेत्र कार्यान्वयन हुन सकेन ।

खुला दिसामुक्त हुनका लागि प्रत्येक घरमा मापदण्डयुक्त शौचालय र सार्वजनिक स्थानमा सार्वजनिक शौचालय सूचक निर्धारण गरिएको थियो । तर जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको यतिका वर्ष बितिसकेपनि धेरैजसो सार्वजनिक स्थानमा सार्वजनिक शौचालय बन्न सकेको छैन । सावैजनिक शौचालय नबनेपछि खुला दिसामुक्त क्षेत्र कार्यान्वयनमा नआएको हो ।

अहिलेपनि जिल्लाका अधिकाशं स्थानीय तहको सेवाकेन्द्र, मुख्यबजार तथा सार्वजनिक स्थानहरुमा सार्वजनिक शौचालय छैन । बजारको रुपमा विकास हुँदै गरेको धेरैजसो ठाउँमा सार्वजनिक शौचालय नभएकाले खुला शौच गर्न बाध्य छन् । कतिपय ठाउँमा भने शौचालय निर्माण भएपनि प्रयोग विहीन छ ।

स्थानीय तह पुनरसंरचनापछि नगरपालिका र गाउँपालिकामा जनचाप बढ्दो छ । दैनिकजसो सयौंको संख्यामा सेवाग्राहीको आवतजावत हुन्छ । मुख्य बजारहरुलाई स्थानीय तहले सेवाकेन्द्र बनाएपछि जनचाप बढ्न स्वाभाविक हो । बढ्दो जनचापसँगै समस्याहरु पनि थपिएका छन् । अधिकाशं गाउँपालिका र नगरपालिकाको सेवाकेन्द्रमा अहिले पनि सार्वजनिक शौचालय बनेका छैनन् ।

देउमाई नगरपालिकाको सेवाकेन्द्र मंगलबारे बजारमा सार्वजनिक शौचालय छैन । बजारभन्दा केही तल प्राथमिक स्वास्थ्य केन्द्रको शौचालयलाई सार्वजनिक शौचालय घोषणा गरिएपनि धेरै मानिसहरु त्यहाँ पुग्दैनन् । प्रत्येक बुधबार साप्ताहिक हटिया लाग्ने मंगलबारे बजारका स्थानीयदेखि बजार पुग्ने थुप्रै शौचालयको अभावमा छटपटिन्छन् । बजार क्षेत्रमा नै सार्वजनिक सौचालय नहुँदा धेरैलाई सास्ती हुने गरेको स्थानीबासी बताउँछन् ।

पश्चिमी क्षेत्रकै ठूलो बजारको रुपमा रहेको मंगलबारेमा बैंक, नापी कार्यालय, मालपोत कार्यालय, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय छन् । मगलबारेमा मात्र होइन, सदरमुकाममा समेत व्यवस्थित शौचालयको अभाव छ । चोकबजारस्थित ट्याक्सी स्टेण्ड छेउमा निर्माण गरिएको सार्वजनिक शौचालय समेत पर्याप्त पानी र सरसफाईको अभावमा प्रभावकारी बन्न सकेको छैन । यस्तै सूर्योदय नगरपालिकाको सेवाकेन्द्र फिक्कल बजारमा समेत सार्वजनिक शौचालय भएपनि रेखदेख राम्रो नहँुदा समस्या भएको स्थानीय युवाहरुको गुनासो छ ।

सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाको सीमा क्षेत्र हर्कटे बजारमा पनि सार्वजनिक शौचालय छैन । हर्कटेमा एउटा सार्वजनिक शौचालय निर्माण गरिएपनि प्रयोगमा ल्याइएको छैन । पानीको अभावको कारण देखाउँदै सार्वजनिक शौचालयमा ताला ठोकिएको छ । ५ वर्ष अघिनै बनेको शौचालय बन्द हुँदा आवश्यक परेकाहरुले समेत खुला रुपमा शौच गर्न बाध्य छन् ।

यस्तै माई नगरपालिकाको सोमबारे र विहीबारे बजार, सन्दकपुर गाउँपालिकाको देउराली बजार, माङसेबुङ गाउँपलिकाको पञ्चमी बजार, माङमालुङ बजार, गजुरमुखी बजार लगायत धेरैजसो स्थानीय तहको मुख्य बजारहरुमा सार्वजनिक शौचालयको अभाव छ । बजारमा रहेको होटल तथा नीजि घरहरुमा रहेको शौचालयमा जानसमेत नदिएपछि यसबाट धेरै मानिसहरु समस्यामा पर्ने गरेका छन् ।

सार्वजनिक शौचालयको अभावमा खुला शौच गर्दा मानिसहरुमा विभिन्न प्राणघातक रोग लाग्ने खतरा बढेको इलाम अस्पतालका डाक्टर पवनजंग रायमाझी बताउँछन् । यसतर्फ सम्बन्धित स्थानीय तहको समयमै ध्यान जान जरुरी रहेको उनको सुझाव छ ।

उसो त स्थानीय तहसँग बजेट अभावमा शौचालय नबनिएको भने होईन । इच्छाशक्ति हुने हो भने, एक वर्षमा नै विकासले फड्को मार्न सक्ने बजेट स्थानीय तहसँग छ । तर जनप्रतिनिधिले नीति तथा कार्यक्रम निर्माण र बजेटिङमा त्यसतर्फ चासो नदिदाँ समस्या ज्यँ का त्यूँ रहेको हो ।

सरकारले सुरु गरेको अभियान अन्तरगत इलामलाई १४ चैत २०७१ मा नेपालको २३ औं तथा पूर्वाञ्चलको तेश्रो स्थानमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । अभियानका क्रममा पहिलो बनिएका सहित ६३ हजार छ सय ४९ घरमा मापदण्डयुक्त शौचालय निर्माण भएको थियो । सो क्रममा तत्कालिन जिल्ला विकास समितिले करीब तीन करोड खर्चेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार