पूर्णरूपमा सञ्चालनमा नआउँदै बन्द भयो चियाको अक्सन केन्द्र

चियासम्बन्धी पहिलो अक्सन केन्द्र पूर्णरूपमा सञ्चालनमा नआउँदै बन्द भएको छ। चालु आर्थिक वर्ष २०७५/७६ को बजेटमा समावेश पनि नगरिएको र बजेटसमेत उपलब्ध नगराइएकाले मुलुककै पहिलो र एक मात्र अक्सन केन्द्र बन्द भएको हो।

सरकारले चालु आर्थिक वर्षका लागि बजेट उपलब्ध नगराउँदा अक्सन केन्द्र बन्द भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ। पूर्ण रूपमा सञ्चालनमा नआए पनि सरकारले पछिल्लो पाँच वर्षदेखि उक्त केन्द्रका लागि बजेट छुट्टयाउँदै आएको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एनटीआईएस आयोजनाबाट उक्त बजेट छुट्टयाइँदै आएको थियो।

‘तर चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा अक्सन केन्द्रलाई समावेश गरिएन्,’ बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले भने, ‘बजेट नआएपछि तत्कालका लागि यसको सञ्चालन कार्य बन्द भएको छ।’ बजेट नआएपछि बहालमा लिइएको घरसमेत अहिले छोडिएको छ। बोर्डका अनुसार प्राप्त भएको बजेटबाट झापाको बिर्तामोडमा घर वहाल गरी तत्कालका लागि अस्थायी अक्सन केन्द्र सञ्चालनमा ल्याए पनि सरकारले प्रस्ट नीति तयार नगरिदिँदा उक्त अक्सन केन्द्र पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन।

अक्सन केन्द्रका लागि बोर्डले वार्षिक रूपमा तीन लाख रुपैयाँ घरभाडा बापत खर्च गरे पनि राज्यको अदूरदर्शी नीतिका कारण उक्त केन्द्र पूर्णमा सञ्चालनमा आउन सकेको थिएन। बोर्डले अक्सन केन्द्रमार्फत चियाको कारोबार गर्न किसान र व्यापारीलाई प्रोत्साहन गर्न ६० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ताको सुविधा र अक्सन केन्द्रमा राखिने चियालाई धितोमा राखेर कम्तीमा ६ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउने नीति तयार पारेको थियो।

‘तर उक्त नीति राज्यबाट स्वीकृत नहुुदा किसान र व्यापारी अस्थायी अक्सन केन्द्रमा कारोबारका लागि चासो नै देखाएनन्’, कार्यकारी निर्देशक गौतमले भने, ‘कम्तीमा यो नीति आइदिएको भए किसान र व्यापारी अक्सन केन्द्रप्रति चासो राखेर त्यहीबाट कारोबार गर्न इच्छुक हुन्थे।’

क्रेता र बिक्रेता जम्मा भएर चियाको गुणस्तरअनुसार निश्चित मूल्यमा खरिदबिक्री सम्झौता गर्ने थलोलाई अक्सन केन्द्र भनिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार