विक्री ठप्प भएपछि पाँचथरका कृषकले सडकमा फाले टमाटर

विक्री हुन छोडेपछि कृषकहरुले सडकमै टमाटर फालेर विरोध जनाएका छन् । पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. १ का टमाटर कृषकहरुले सडकमै टमाटर फालेर विरोध जनाएका हुन् ।

नेपाल सरकारले टमाटरमा पकेट क्षेत्रको रुपमा विस्तार गरिरहेको हिलिहाङ गाँउपालिका र याङवरक गाँउपालिकाका किसानहरुले यहाँ उत्पादित टमाटरको बजार खोजिदिनुपर्ने, भारतीय अवरोध हटाउन पहल गर्नुपर्ने माग समेत गरेका छन् ।

नेपाली उत्पादन निकासी हुन नसके भारतीय उत्पादनको आयात समेत रोकिनुपर्ने, अनाधिकृत बिषादीको प्रयोगमा बन्देज लगाउनुपर्ने माग राख्दै यहाँका कृषकहरुले टमाटर सडकमा फालेर सांकेतिक विरोध जनाएका हुन् ।

अघिल्लो बर्ष यही सिजनमा प्रतिकिलो ७० रुपैँयामा विक्री भएको टमाटर निकासीमा भारतीय अवरोधका कारण यस बर्ष २ रुपैँया प्रतिकिलोमा समेत नविकेको कृषकहरुको गुनासो छ ।

हिलिहाङ–१ का कृषक तथा टमाटरका व्यवसायी लिलानाथ ढकालका अनुसार गत वर्ष यही सिजनमा ७० रुपैयाँ भन्दा बढीमा विक्री हुने गरेको टमाटर यसवर्ष २ रुपैँयामा समेत विक्री हुन सकेको छैन् ।

अघिल्लो वर्ष हिलिहाङको अमरपुरबाट मात्रै २ करोड भन्दा बढी मूल्यको टमाटर विक्री भएको तर यस वर्ष टमाटरमा प्रयोग गरिएको मलको मूल्य समेत उठ्न नसकेको दुःखेसो कृषकहरुको छ ।

“गत वर्ष टमाटर आकर्षक मूल्यमा विक्री भएपछि यस वर्ष उत्पादनलाई दोब्बर बनाएको थिएँ” याङवरक गाँउपालिका–६ नागीका कृषक डम्बर भारती “तर यस वर्ष टमाटर खेतीमा चुर्लुम्म डुवियो ।” ४ रोपनी जमिनमा ३२ सय विरुवा लगाएको १ लाख बढी लगानी गरेको सुनाउँदै भारतीले टमाटर विक्री नभएपछि लगानी समेत डुबेको वताए ।

हिलिहाङ–२ अमरपुरमा उत्पादित टमाटर ।

सरकारले पकेट क्षेत्रको घोषणा गरेसँगै टमाटरले जीवनस्तर उकासेका यहाँका किसान यो वर्ष भोकभरी नै चल्न सक्ने अनुमान लगाउँछन् । मुख्य नगदेबालीका रुपमा टमाटर रोप्न थालेपछि आफ्ना बारीमा मकै, कोदो, फापर लगायतका बाली समेत नलगाई टमाटर लगाएको उनीहरुको भनाई छ ।

टमाटरबाट आम्दानी लिन नसकेपछि आफूहरुलाई अनिकाल नै लाग्ने चिन्ता लागेको हिलिहाङ–२ का कृषक प्रकाश उप्रेतीको भनाइ छ । विगतमा दैनिक १० ओटासम्म पिकअपले टमाटर उठाए लैजाने गरेका थिए । तर, भारतीय अवरोधपछि टमाटर विक्री हुन सकेको छैन । व्यवसायीहरुले नेपालकै विभिन्न बजारमा टमाटरको बजार खोजेका छैनन ।

“पकेट क्षेत्रको रुपमा घोषणा गरेको स्थान र टमाटरमा सरकारको समेत लगानी गरेकाले कुनै समस्या नआउला भनेर टमाटर खेती सुरु गरियो” उप्रतीले भने “विदेशिने युवाहरुलाई समेत विदेश जानबाट रोकेर टमाटर खेतीमा लगाइयो । तर, एकासी टमाटरको भारत निकासी रोकिएपछि हाम्रो सबै आशा मरेको छ ।”

किसानहरुका लागि राज्यले कुनैपनि सहयोग नगरेको उनीहरुको गुनासो छ । सरकारले टमाटर भारत निर्यातका लागि समझदारी गर्न नसक्दा आफूहरु मारमा पर्नुका साथै आफ्नो क्षेत्रको अर्थतन्त्रमा धक्का लागेको कृषकहरु वताउँछन् ।

टमाटरकै कारणले राज्यलाई पनि क्षति पुगिरहेकोले सरकारले चाडो भन्दा चाडो पहल गरेर भारत निर्यात खुलाउनु पर्ने कृषकहरुको  माग छ । राज्यले चासो नदिए आन्दोलमा उत्रने कृषकहरुको भनाई छ ।

विगतमा अन्य कृषि उपजको विल बनाई टमाटर भारत निकासी हुने गरेको थियो । तर, यस पटक भारतीय व्यापारीहरुले अन्य कृषि उपजको विलमा टमाटर लैजान नसकेपछि टमाटरको निकासी ठप्प भएको हो । पूर्वी पहाडका पाँचथर सहित ताप्लेजुङ, तेह्रथुम, इलाम लगायत जिल्लामा उत्पादन भएको लाखौँ मूल्यको टमाटर बिक्री हुन नसकेपछि कृषकहरु मारमा परेका छन् ।

याङवरक गाउँपालिकाको नागी र थर्पु तथा हिलिहाङ गाउँपालिकाको पञ्चमी, अमरपुर र भारपामा व्यवसायिक रुपमा टमाटर उत्पादन हुने गरेको छ । साविकका पाँच गाविसबाट वार्षिक तीन करोडभन्दा बढी रुपैँयाको टमाटर बिक्री हुने गरेको छ ।

पूर्वी पहाडमा उत्पादित कृषिजन्य उत्पादन झापाको कृषि थोक बजार हुँदै पश्चिम बंगालको सिलिगुडी निर्यात हुने गरेको थियो । नेपालबाट भारत निकासी हुने कृषि उपजको सूचिमा नपर्दा पाँचथर सहित पूर्वी पहाडमा उत्पादित टमाटरको भारत निकासी ठप्प भएको हो । असारको दोस्रो साताबाट भारतले टमाटर निकासी बन्द गरेपछि किसानको बारीमै टमाटर कुहिन थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार