नौ बर्षमा इलाममा तीनसय ९१ वटा सवारी दुर्घटना

इलाम : इलाममा सवारी दुर्घटनाको अवस्था निकै दर्दानक रहेको पाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको नौ आर्थिक बर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा सवारी दुर्घटनाको अवस्था निकै डरलाग्दो रहेको पाइएको हो । आर्थिक बर्ष ०६६–०६७ देखि आर्थिक बर्ष ०७४–०७५ अर्थात नौ आर्थिक बर्षमा जिल्लामा ३ सय ९१ वटा सवारी दुर्घटना भएका छन् ।

त्यसमा सबैभन्दा बढि ०६९–०६९ मा ९६ वटा र सबैभन्दा कम आर्थिक बर्ष ०७४–०७५ मा २२ वटा सवारी दुर्घटना भएका हुन् । नौ आर्थिक बर्षमा भएका सवारी दुर्घटनामा परी जम्मा एकसय ३८ जनाको अकालमै ज्यान गएको छ । नौ बर्षको अवधिमा ७ सय ५४ जना सामान्य घाईते र ३ सय २८ जना गम्भिर घाईते भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । आर्थिक बर्ष ०६९–७० मा सबैभन्दा बढी ४० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्कलाई हेर्दा आर्थिक बर्ष ०६६–०६७ देखि आव ०७०–०७१ सम्म सवारी दुर्घटनाको दर बढ्दो मात्रामा रहेको थियो । तर आव ०७१–०७२ देखि सवारी दुर्घटना दर घट्दै गएको छ ।

अघिल्लो आर्थिक बर्ष ०७३–०७४ मा ३८ वटा सवारी दुर्घटना हुँदा ८ जनाको ज्यान गएको थियो भने गत आव ०७४–०७५ मा २२ वटा सवारी दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । जिल्लामा सबैभन्दा बढि मोटरसाईकल, टयाक्टर, टयाक्सि दुर्घटना भएको छ । यता जिल्लामा सवारी दुर्घटनाको दर बर्षेनी घट्दो क्रममा रहेपनि सवारी कार्वाहीको दर भने बढ्दो क्रममा रहेको छ । ट्राफिक नियम उल्लङघन गर्ने, मापसे गरेर सवारी चलाउनेको सङख्या बढि हुँदा सवारी साधन बढी मात्रामा कार्वाहीका भागिदार भएका छन् । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०६६–०६७ देखि गत आर्थिक बर्ष ०७४–०७५ अर्थात नौ बर्षको तथ्याङ्कलाई हेर्दा जम्मा ८५ हजार ७ सय ३२ वटा सवारी साधनलाई कार्वाही गरेको छ ।

त्यसमा सबैभन्दा बढी ३१ हजार ७ सय ८१ वटा मोटरसाईकल कार्वाहीको भागिदार बनेको छ । यस्तै जिप÷कार भेन ३१ हजार २ सय १६, ट्रक ११ हजार ७ सय ३०, टयाक्टर ७ हजार २ सय १३ र बस ३ हजार ७ सय ९२ वटालाई कार्वाही गरीएको जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । बिगतमा सवारी दुर्घटनाहरु बढ्ने क्रम भएपछि चेकजाँचलाई कडाई गर्न थालेपछि दुर्घटना घट्ने क्रममा रहेको र ट्राफिक नियम पालना नगर्ने, मापसे गरेर सवारी चलाउनेको सङ्ख्या बढ्दा सवारी साधन बढी कार्वाहीमा परेको जिल्ला ट्राफिक इन्चार्ज पदमबहादुर राईले बताउनुभयो ।

सवारी साधन कार्वाही गर्दा नौ आर्थिक बर्षमा दुई करोड ८० लाख ३९ हजार ६ सय रुपैंयाँ राजस्व संकलन भएको छ । गत आर्थिक बर्ष ०७४–०७५ मा मात्र १४ हजार ९ सय ८६ वटा सवारी साधनलाई कार्वाही गर्दा ८१ लाख ९२ हजार रुपैंयाँ राजश्व संकलन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार