इलामका गाउँपालिका र नगरपालिकाको केन्द्रमा सार्वजनिक शौचालयको अभाव

इलाम : राज्यको पुनरसंरचना पछि बनेका नगरपालिका र गाउँपालिकाको केन्द्रमा जनचाप बढ्दो छ ।

बजारहरुलाई स्थानीय तहले केन्द्र बनाएपछि जनचाप बढेसंगै समस्याहरु समेत थपिएका छन् । धेरैजसो इलामका गाउँपालिका र नगरपालिकाको केन्द्रमा अहिले सार्वजनिक शौचालयको अभाव देखिएको छ । इलामको देउमाई नगरपालिकाको केन्द्र रहेको मंगलबारे बजारमा सार्वजनिक शौचालय छैन ।बजार भन्दा केही तल रहेको प्राथमिक स्वास्थ्य केन्द्रको शौचालयलाई सार्वजनिक शौचालय घोषणा गरिएपनि धेरै मानिसहरु त्यहाँ पुग्दैनन् ।

प्रत्येक मंगलबार हाट लाग्ने मंगलबारे बजारका स्थानीयदेखि बजार पुग्ने थुप्रै शौचालयको अभावमा छटपटिन्छन् । जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको दुई वर्षभन्दा बढि समय वितेपनि बजार क्षेत्रमा सार्वजनिक शौचालय बन्न सकेका छैनन् ।

बजार क्षेत्रमानै सार्वजनिक शौचालय नहुँदा धेरैलाई सास्ती हुने गरेको मंगलबारेका स्थानीय बताउँछन् ।पश्चिमी क्षेत्रकै ठूलो बजारको रुपमा रहेको मंगलबारेमा बैंक, नापी, मालपोत, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय छन् ।

इलामको मँगलबारे मात्र होइन सदरमुकाममा समेत ब्यवस्थित शौचालयको अभाब उत्तिकै छ । यस्तै सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा सार्वजनिक शौचालय भएपनि भएको शौचालयको रेखदेख राम्रो नहँुदा धेरै समस्या भएको स्थानीय युवाहरुको गुनासो छ ।

रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाको हर्कटे बजारमा पनि सार्वजनिक शौचालयको अभाव नै छ । हर्कटेमा बनेको एउटा सार्वजनिक शौचालय स्थापना भएयता प्रयोगमा ल्याइएको छैन । पानीको अभाव देखाउँदै सार्वजनिक शौचालयमा ताला लगाइएको छ ।

पाँच वर्ष अघिनै बनेको शौचालय बन्द हुँदा आवश्यक परेकाहरुले समेत खुला रुपमा शौच गर्नुपर्ने बाध्यता छ र खुल्ला ठाँउमा शौच गर्दा मानिसमा बिभिन्न रोग लाग्ने खतरा हुने जिल्ला अस्पताल इलामका डा. पवनजङ्ग रायमाझी बताउँछन् ।

बजारको रुपमा विकास हुँदै गरेको धेरैजसो ठाउँमा सार्वजनिक शौचालय छैन । भएकाको कतिपय ठाँउका पनि प्रयोग बिहिन बनेका छन् । सन्दकपुर गाउँपालिकाको देउरालीलगायतका धेरैजसो गाउँपालिकाको केन्द्रमा सार्वजनिक शौचालयको अभाव छ । बजारमा रहेको होटल तथा नीजि घरहरुमा रहेको शौचालयमा जानसमेत नदिएपछि  यसबाट धेरै मानिसहरु समस्यामा पर्ने गरेका छन् ।

त्यसैले इलाम सदरमुकाम र स्थानीय तहका बिभिन्न बजारहरुमा तत्काल सार्बजनिक शौचालय निमार्ण गर्न सरोकारवलाको ध्यान जान जरुरी देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार