बढ्दो व्यापार घाटा नियन्त्रण गर्न आवश्यक : आर्थिक मामिलामन्‍त्री आङ्बो

युद्धबहादुर बोहोरा

पाँचथर : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ ले नेपालको बढ्दो व्यापार घाटा नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकाको दोस्रो गाउँ सभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री आङ्बोले उक्त कुरा बताएका हुन् । नेपालमा वार्षिक ३६ अर्व बराबरको खाद्य सामाग्री विदेशबाट आयात हुने गरेको र नेपालमा उत्पादन भएका विविन्न जडिबुटी सस्तो भाउमा निर्यात हुनाले देशको अर्थतन्त्र कम्जोर भएको उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सरकारको योजना तथा धारण राख्दै आङ्बोले राष्ट्रिय अर्थतन्त्रमा टेवा दिने पर्यटन प्रबर्द्धन, कृषि, उर्जा, कलकारखाना र घरेलुु उत्पादनको लागि सरकारले प्राथमिकता दिने र निर्यात बढाउने तर्फ केन्द्रित रहेको बताए । स्वदेशमा उत्पादन गरेको सामाग्री प्रयोगमा ल्याउन सके मात्रै आर्थिक उन्नति र आत्मनिर्भर बन्न सकिने हुँदा यस तर्फ सरकारको ध्यान रहेको उनको भनाइ छ। वर्तमान सरकार जनतालाई शास्ती दिने र त्रसित नबनाइ दिगो विकास, आर्थिक समृद्धि र सुशासनको पक्षमा रहेर सिंहदरबारको अधिकार जनताको घरमै आएको महसुस गराउन प्रतिबद्ध रहेको बताए ।

गृह जिल्ला पाँचथलाई हरेक कुरामा प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने बताउँदै धेरै लामो समय पछि नेपालमा आएको राजनीति उपलब्धि धराप पर्न नदिन र जनताको जीवन स्तर सुदृढ गर्नु सरकारको अर्जुनदृष्टि रहेको उनले बताए । गाउँ सभाको उद्घाटन सत्रमा शुभकामना राख्दै मन्त्री आङ्बोले भने, ‘तीन तहका सरकार मध्ये स्थानीय सरकारले जनतालाई सेवा सुविधा दिने, प्रदेश सरकारले विकास निर्माण गर्ने र संघीय सरकारले देशको नीति निर्माण र राष्ट्रिय गौरवका काम गर्ने दायित्व रहेको छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार