छिट्छिटै पिसाब लाग्छ ? पुवामाई टोल पुग्नुहोला नि !

इलाम : तपाइँलाई यदि छिटो छिटो पिसाब लाग्ने बानी या रोग छ भने जस्तै इमर्जेन्सी काममा वा झुक्किएर पनि इलाम नगरपालिका ९ को पुवामाई टोल विकास संस्थाको क्षेत्रभित्र नपस्नु होला । त्यहाँ स्पष्टसँग सूचना गरिएको छ– टोल विकास संस्थाको क्षेत्र भरि पिसाब गर्न पाइँदैन भनेर
मेची राजमार्गको भञ्ज्याङ गोलाखर्क खण्डमा अवस्थित यो टोल विकास संस्थाले राजमार्ग किनारमै राजमार्गमा गाडिमा वा पैदल यात्रा गर्ने जो सुकै यात्रीले देख्न र पढ्न सक्ने गरि  यस्तो सूचना गरेको हो । राजमार्ग छेउको एउटा रुखमा टाँगिएको बोर्डमा भनिएको छ– ‘यस टोल विकास संस्था क्षेत्रभित्र पिसाब गर्न मनाही छ ।’ यसले टोल विकास संस्थाको क्षेत्रभित्र पिसाब गर्नै नपाइने अर्थ बुझाउँछ ।
वास्तविकता फरक होला, तर होर्डिङ बोर्डको सन्देशले उक्त क्षेत्रमा पिसाब गर्नु कारबाहीको भागिदार बन्न तयार हुनु हो भन्ने बुझाउँछ ।
किन यस्तो सूचना टालियो त ? साँच्चै त्यहाँ पिसाब गर्नै नपाइने हो त ? साँच्चै भए त्यहाँ पुग्ने जो कोहीले पिसाब लागेको खण्डमा के गर्ने ? सन्दकपुर दैनिकले यी प्रश्नहरू उक्त टोल विकास संस्थाका अध्यक्ष याम बहादुर र्चौहानलाई राख्दा उनले वास्तविकता त्यस्तो नभई अञ्जानमै यस्तो भएको प्रतिक्रिया दिए ।
उनको भनाई अनुसार नगरपालिका कार्यालयले टोल विकास संस्थाहरूमा खुल्ला दिशापिसाब नगर्ने सन्देश सूचना बोर्डमा राख्न बजेटसहित जिम्मा दिएको बेला राखिएको उक्त बोर्डमा भूलबस पिसाब गर्नै नपाइने सन्देश परेको हो । ‘म आफुले त्यतिबेला हेरिरहिनँ । नगरपालिकाले छिटो गर भनेर हतार लगायो । हतारहतारमै संस्थाका अरु साथीहरूले काम गर्दा त्यस्तो भूल भएछ’, अध्यक्ष चौहानले भने । त्यो बोर्ड राखिएको एक वर्षभन्दा बढी भइसकेको छ । के यतिञ्जेल पिसाब गरेनन् त कसैले ? भन्ने प्रश्नमा उनले त्यस्तो नभएको र कसैलाई केही नगरिएको जवाफ दिए । किन बोर्डमात्रै राखियो त ? भन्ने प्रश्नमा चाहिँ उनले आपूm रुखमा चढेर झिक्न नसक्ने र साथीहरूले नभ्याएको भन्दै आज भोली नै आफुले त्यो बोर्ड झिक्न लगाउने प्रतिबद्धता ब्यक्त गरे । भाषा मिलाउन ख्याल नगर्दा बोर्डमा लेखिएको वाक्यले दिन खोजिएको सन्देश भन्दा फरक र गतल अर्थ लाग्ने सन्देश दिएको उनले स्वीकार गरे । चौहान सेवानिबृत्त शिक्षक हुन् । सन्दकपुर दैनिक पत्रिकामा यो खबर छापिएको छ  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार