किरात राई महिला लक्षित उद्घोषण तथा क्षमता विकास तालिम सम्पन्‍न

नयाँ बुलन्द

इटहरी : किरात राई महिलाहरूको सशक्तिकरणको उद्देश्य राखी आयोजना गरिएको ३ दिने उद्घोषण तथा क्षमता विकास तालिम सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।

किरात राई सुम्निमा संघ, नगर कार्यसमिति इटहरी, सुनसरीले आयोजना गरेको सो तालिम असार १८ देखि २० गतेसम्म सञ्चालन गरिएको थियो । तालिममा २० जना महिलाहरूले भाग लिएका थिए ।

समापन कार्यक्रमकी प्रमुख अतिथि एवं किरात राई सुम्निमा संघ, जिल्ला कार्यसमिति सुनसरीकी अध्यक्ष सीता राईले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै उद्घोषण सम्बन्धी ज्ञानले किरात सुम्निमाहरूमा संघर्ष गर्ने क्षमता बढ्ने विश्वास व्यक्त गरिन् ।

किरात राई सुम्निमा संघ, नगर कार्यसमिति इटहरी, सुनसरीकी अध्यक्ष वन्दना राईले इटहरी उप महानगरपालिका भित्र बसोबास गर्ने किरात राई महिलाहरूको सशक्तिकरण अभियान शुरू गरेको बताएकी छिन् । उनले उप महानगरपालिकाका २० वटै वडामा छिटै समिति गठन गरी क्षमता विकासका अन्य कार्यक्रमहरू आयोजना गरिने बताइन् ।

तालिमका सहजीकरण रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय कोषाध्यक्ष अमरध्वज लामाले गरेका थिए । कार्यक्रम उद्घोषण सम्बन्धी ज्ञानले किरात सुम्निमाहरूमा अभिव्यक्ति क्षमता र व्यवस्थापन क्षमताको एकैसाथ अभिवृध्दि हुने धारणा राखे ।

कार्यक्रममा नगर समितिका उपाध्यक्ष कल्पना राई, सचिव कृष्णा राई र प्रशिक्षार्थी चन्द्रकला राईले तालिमको अनुभव सुनाएकी थिइन् । त्यसैगरी, वान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराती, केन्द्रीय सचिव रामप्रसाद राई, आदिवासी जनजाति महिला महासंघ सुनसरीकी सचिव माया राई, किरात राई सुम्निमा संघ, प्रारम्भिक कार्यसमिति इटहरी-६ की पूर्व अध्यक्ष दूर्गा राई लगायतका वक्ताहरूले नगर कार्यसमितिको अभियानको प्रशंसा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार