राजपा आफनो मुद्धा छाडेर सरकारमा जाँदैन

राष्ट्रिय जनता पार्टी अर्थात राजपा नेपाल सरकार बाहिर छ । सरकार निर्माणमा सहयोग गरे पनि आफै सरकारमा सहभागी छैन । संविधान संशोधन लगायतका आफ्ना मुद्दाहरुलाई अघि बढाईरहेको राजपा आफै पनि महाधिवेशनको तयारीमा छ । वर्तमान राजनीतिक विषयमा केन्द्रित रहेर राजपाका नेता सर्वेन्द्रनाथ शुल्कासँग गरेको कुराकानीको सार :

वर्तमान राजनीतिलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
छिटो छिटो विभिन्न राजनीतिक क्षितिजहरुमा यो नयाँ सरकार विकास भइरहेको छ । वामपन्थि शक्तिहरु एक ठाउँमा भएको समयमा जुन राष्ट्रपतिय प्रणालीको कुरा उठेको छ यसले शंखा उव्जाएको छ , यो देशबाट लोकतन्त्र खतरामा पर्ने त हैन , संसदिय व्यवस्था नै कही गडबड हुने हैन भन्ने कुरा हामी सवै चाहिँ सशांकित भएका छौ । कांग्रेस चुनावी परिणामको झट्काले अझै पनि मुक्त भएको छैन । जसले एकजुट भएर नयाँ ऊर्जाका साथ अघि बढ्ने र लोकतन्त्रको रक्षाका लागि विगतमा जसरी संघर्ष गरिएको थियो , त्यो अनुसार जनताको विश्वास वातावरण बनाउन सकेको अवस्था छैन । सरकारको पनि प्रमुख प्रतिपक्ष लगायतलाई विश्वासमा लिएर अघि बढ्ने संस्कार पनि कम हुँदै गएको छ । संघीयता अनुसार स्थानीय तहको क्षमता अभिवृद्धि भएको छैन , प्राविधिक सर्पोट छैन , संविधान कार्यभार अनुसार स्थानीय निकायको क्षमता अभिवृद्धि भएको छैन , प्रदेशले ऐन पाउन सकेको छैन , न त बजेटनै पाएको स्थिती छ । केन्द्र अधिकार दिन तयार छैन प्रदेश अधिकार मागिरहेको छ । यो स्थितीमा संघियता सफल हुने हो कि असफल हुने हो भन्ने दुविधा छ । त्यस्तै समृद्धि हुने हो कि सपनामा मात्र सिमित हुने जनता त्यो मनस्थितीमा छन् भने अर्कोतिर प्रतिपक्ष कमजोर अवस्थामा छ , सरकारमा निर्गानी भएको छैन । यो सरकार स्वभावले नै निरंकुशतातिर जाने सरकार हो । हामीले वास्तविक समृद्धि पाउँछौ पाउँदैनौ , संघीयताको प्रतिफल पाउँछौ पाउँदैनौ भनेर जनता अस्पष्ट छन् ।

प्रतिपक्षमा बसेर काग्रेस कमजोर भयो भनिरहँदा , राजपा र काँग्रेस मिलेर दरो प्रतिपक्षको भुमिका खेल्ने अवस्था छ कि छैन ?
त्यसको नेतृत्व नेपाली कांग्रेसका नेताहरुले गर्नुपर्छ । काँग्रेस भित्र आफैमा समन्वयको अभाव छ , उसले बाहिरको शक्तिसँग कसरी समन्वय गर्ने । अनि बाहिरको शक्तिले कांग्रेसलाई कसरी विश्वास गर्ने कि यसले लोकतान्त्रीको शक्तिको नेतृत्व गर्छ भनेर ? पहिले कांग्रेसले आफ्नै घरलाई व्यवस्थित गर्नुृपर्छ अनि मात्र लोकतन्त्रलाई व्यवस्थित गर्नु भनेर विश्वास दिलाउनु पर्यो । त्यस पश्चात् लोकतन्त्रका समर्थक शक्तिहरु एक हुन्छन् । अहिले त कांग्रेससँग लाग्यो भने हामी नै डुब्छौ कि भन्ने अवस्था छ । त्यसकारण लोकतान्त्रीक शक्ति संसदभित्र तथा बाहिर एक हुन सक्छन् । तर पहिला कांग्रेस आफु त्यो अनुसार तयार हुनुपर्दछ ।

राजपा नेपाल सरकारमा जाने संभावना कत्तिको छ ?
हेर्नुहोस् । सरकारमा जादैनौ भन्ने कसम खाएका छैनौ । सक्तामा गएर जनताको इच्छा पुरा गर्ने अथावा बाहिर बसेर आन्दोलन गरेर जनताका लागि लड्ने । यो दुईवटा बाटा हुन्छन् । तत्काल नै कुनै आन्दोलनको स्थिती पनि छैन , जनताको चाहाना आन्दोलन पनि हैन । यो सरकारले हाम्रो मुद्दा संवोधन गर्ने भनेर भनेको छ तर त्यस अनुरुप कार्य पनि गरेको छैन । त्यसकारण अहिले हामी पर्ख र हेरको स्थितीमा छौ । यो सरकारमा जानलाई हामीले दुई चारवटा कुराहरु सरकार समक्ष राखेका छौं । एउटा निर्दोष मानिस माथीको झुटो मुद्दा फिर्ता र संविधान संसोधनको माग गरेका छौं । सरकार के कति संसोधन गर्न सक्छ स्पष्ट रुपमा हामीसँग छलफल गर्न माग गरेका छौं । तत्काल कुर्सिका लागि हामी जुनसुकै कागजमा हस्ताक्षार गर्न तयार छैनौ । हामीले उठाएका विषयमा छलफल हुनुपर्यो । छलफलका लागि वातावरण बनाउन झुटा मुद्दाहरु छ , त्यसलाई समाधान गर्नुपर्यो । जनमतको अपमान गरेको छ यो सरकारले । रेशम चौधरीलाई अदालतले दोषी ठहर गरेको छैन , जनताले भारी मत दिएर जिताएका छन् । उनलाई प्रमाणपत्र पनि दिइएको छैन । कानुनले दोषी ठहर गर्छ भने उनलाई कारबाही हुनुपर्दछ , तर जितेको मान्छेलाई सपथ खान किन नदिनु ? खोइ जनमतको सम्मान ? त्यसकारण यि विषयमा छलफल हुनुपर्दछ ।

संघीय समाजवादि फोरम जस्तो प्याकेजमै सहमति गरेर सरकार जाने अवस्था छैन ?
छैन । त्यो प्याकेजको सहमति बढो अस्पष्ट छ । भित्रि कुरा छाडौं। त्यो प्याकेजमा संविधान संशोधनले नभई कुर्सीले प्राथामिकता पाएको छ । हामीलाई फोरमभन्दा अघाडि नै लिने कोशिस भएको थियो । तर हाम्रो प्राथामिकता भनेको हाम्रो मुद्दाहरु हुन् ।

मधेसको मुद्दा , एउटै मुद्दा बोकेर हिडेको फोरमा सत्तामा गयो तपाईंहरु बाहिर हुनुहुन्छ , यसले त तपाईंहरुकै मुद्दा कमजोर बनाउने हैन र ?
तपाईंको कुरासँग म आंसिक सहमत छु । यसलाई अर्को पाटोबाट हेर्ने हो भने उहाँहरुको विश्वास के छ भने यो मुद्दा लिएर सरकारमा जादा हामीले पूरा गर्न सक्छौ भन्ने छ । तर हाम्रो विश्वास के हो भने सरकारमा सहभागि भएपछि हामी सरकारको अंग बन्छौ जसले मुद्दाहरु प्राथामिकताबाट पर हट्छ । हामी पनि २०६४ पश्चात् विभिन्न दलका नेतृत्वमा बनेको सरकारमा गयौ , दुईवटा कारणले सरकारको समर्थन गर्यौ । समृद्धिमा हामी पनि साझेदार हो भनेर स्थापित गर्न हामीले समर्थन गर्यौ , हाम्रो मुद्दाहरु छन् है यसमा बिचार पुर्याउनुहोस् भन्नलाई समर्थन गर्यौ । हाम्रो विश्वास के हो भने सरकारले तत्काल गर्दैन भने कहिँले गर्छ त्यो समयसिमा स्पष्ट गरोस न ।

उपेन्द्र यादव नेतृत्वको फोरमको दोहोर चरित्र देखिएको हो त ?
फोमको दुईतर्फि भुमिका भन्दा पनि उहाँको पार्टीगत निर्णय हो सरकारमा जाने र सरकारमा गएर मात्रै संगठन बलियो हुन्छ भन्ने उहाँहरुको सोच हो ..

त्यो त पार्टीगत सोच मात्र………..
त्यहीँ त मुद्दा छाडेर सँगठन वलियो हुन्छ भन्ने उहाँहरुको सोच होला , हाम्रो भनाई के हो, राजपा चाहिँ मुद्दालाई छाडेर अन्यत्र जादैन । मुद्दालाई छाडेर राजपा चाहिँ न सरकारमा जान्छ न अरु कुनै काममा अगाडि बढ्छ ।

खासमा संविधानको कुन कुन बुँदामा संशोधन हुनुपर्ने हो ?
ओलीजीको सरकारको समयमा दिल्लीबाट वहाँहरुले हामीलाई ल्याएर तत्कालीन पराष्ट्र मन्त्री कमल थापा जिले हामीलाई लिखित चार बुँदे कागज दिनुभएको थियो । अब जिम्बेवारी सरकारको हो । सरकारले कुनै हालतमा संविधान संशोधन गर्दैनौ भनेर चुनाव लडेको हो । सरकारले के के गर्न सक्छ भन्नु पर्यो अनि हामी टेवलमा ‘बार्गेन’ गर्छौ । नागरिकताको सम्बन्धमा , सरकारी कामकाजको भाषा लगायत साना तिना कुरा जुन स्थापीत गर्नु पर्ने छ । हामी के चाहान्छौ भने सरकार स्पष्ट होस् , सरकार के के गर्न तयार छ त्यो हेर्छौं । किनभने अहिले सरकार संसोधनको पक्षमा छ प्रधानमन्त्री ले पनि यो कुरा भन्नु भएको छ ।

अनि तपाईहरु सरकारमा नगई बाहिर बसेर मात्र आफ्ना मुद्दा स्थापीत गर्ने स्थिती रहला ?
सरकार बाहिर रहदा के हुन्छ भने हाम्रो मुद्दा स्थापीत भएन भने हामी जनता सम्म जाने बाटो पाउँछौ । तर सरकारमा हामी जादा खेरी जनताले हामीलाई पत्याउँदैनन् । जनतासम्म पुग्ने बाटो छेकिनछ । त्यसकारण पनि सरकारलाई मनोवैज्ञानिक दाबाब दिन , आन्दोलन सम्मको स्थितीमा पुग्न पनि हामी सरकारमा नगएका हौं । त्यसैले हामी त्यो बाटोलाई छोड्न चाहादैनौ । अहिले हामीले कुर्सिका लागि मुद्दालाई वेवास्ता गर्यौ भने भोली जनतासम्म पुग्ने बाटो बन्द हुन्छ , जनताले हामीलाई विश्वास गर्दैन ।

६ वटा पार्टी एकता गरेर राजपा बनाउनुभयो, अब एउटै मुद्दा बोकेर हिडेको संघीय समाजवादी फोरमसँग एकता हुने संभावना कत्तिको छ ?
हाम्रो एकता भयो , तर अहिले ६ वटा अंश देखिएको छ । ६ वटा विभाजन रेखालाई पातलो त बनायौ तर पूरै समेट्न सकेको छैन । हामी जिल्ला जिल्ला , गाउँ गाउँमा एकिकृत हुन बाँकी छ । त्यो भनेको अधिवेशनबाट मात्र संभव छ । अधिवेशनको तिथी मिती हामीले तोकिसकेका छौ । एकिकृत पार्टीको अधिवेसन भइसकेपछि अनि हामी फोरमसँग एकिकृत हुने कुरा अघि बढाउँछौं । त्यसमा फोरमको प्रतृकिया पनि हेर्नेछौ । यो कार्यका लागि एकिकृत महाधिवेसन आवश्यक छ । देशमा कम पार्टी हुनु देशका लागि पनि राम्रो , जनताका लागि पनि राम्रो , मुद्दा तथा एजेण्डाको हिसावले आवश्यक छ ।

प्रधानमन्त्री ओलीको दुवै छिमेकी देश भ्रमण र कुटनीतिक गविधिहरुलाई राजपाले कुन रुपमा लिएको छ ?
प्रधानमन्त्री ज्यूले छिमेकी राष्ट्रसँग शक्ति सन्तुलनको प्रयास त गर्नुभयो तर अहिलेसम्म त्यसले ठोस उपलव्धी ल्याउने केही कुरा देख्या छैन । चीन भ्रमणको कुरा गर्दा जुन पारवाहन सन्धी गएर उहाँले गर्नु भयो र बारम्बार ऐतिहासीक भनियो त्यो वेलामा त्यसको उपलव्धी देखेको छैन । तर मलाई के लाग्छ भने चीन सरकारले सुरक्षाको कुरा उठाएर तातोपानी नाका खोलेको छैन , खोल्ने कुरा पछाडी घकेलिएको छ यसको कारण चीनले आफ्नो हितको सुरक्षा अवस्थामा विस्वस्त हुन सकेको छैन । अर्को महत्वपूर्ण कुरा के छ भने केरुगबाट भारत जोड्ने रेलमार्ग भयो भने आर्थिक रुपमा हामी भन्दा चीन लाभान्वित हुन्छ । यता जलमार्गको प्रयोग बारे कुरा गर्ने हो भने ठूलो संरचना नबाई हामीले प्रयोग गर्ने अवस्था छैन । त्यसकारण रेल र जलमार्ग सरकारको राजनीतिक नारा मात्र हो , यसको आर्थिक रुपमा विशलेषण भएको छैन ।

म त्यही आउँदै थिए , जसरी अहिले समृद्धिको सपना रेलमार्ग र जलमार्ग भनिएको छ , के नेपालको वर्तमान अवस्थामा उपयुक्त छ ?
उपयुक्त छैन । जुन किसिमको हाम्रो पहाडको भुभाग छ त्यो भुगर्भिक हिसावले तयो माटो कमजोर छ । उदाहरणको रुपमा छिमेकी देश भारतको कशमिरलाई लिने हो भने त्यहाँको माटो पनी हाम्रो जस्तै प्रकृतिको हो । भारत स्वतन्त्र भएको यत्रो वर्ष भयो तर त्यहाँ रेलमार्ग पुर्याइएको छैन । किनभने त्यसका आर्थिक संभाव्यता अत्यन्तै न्यून छ । तराईमा रेल चलाउन समस्या छैन । तर जवसम्म यसको डिपिआर तयार हुँदैन यो कागजको सपना कागजमै सिमित हुन्छ । त्यसकारण कति खर्च लाग्छ कति आम्दानी हुन्छ भन्ने डिपिआर तयार नभई थाहा हुँदैन । अहिले यो चाहिँ रमाइलो नारा भएको छ, जनतालाई आर्थिक कुरा थाहा हुँदैन , ओलीजीले रेल पानीजहाज पनि ल्याइदिने हुुनुभयो भन्ने मात्र हो । जबसम्म यसको बिस्तृत अध्ययन हुँदैन तवसम्म यो वास्तविकतामा परिणत हुदैन ।

र अन्त्यमा राजपाको महाधिवेशन आउँदैछ , महाधिवेशन पछि पार्टी कस्तो हुन्छ , राजपाको भावी रणनीतिहरु के छन् ?
हामीले एकल अध्यक्ष प्रणाली तर निगरानी राख्न नजिकको ‘क्लोज सर्किटमा’ एउटा टिमको कल्पना गरेर अघाडि बढाउने प्रयास गरेका छौं । यसका लागि विधान तयार हुन्छ , हामी अत्यन्तै प्रारम्भिक अवस्थामा छौं । यो महाधिवेसन पछि हुन्छ । र राजपालाई हामीले जनताको विश्वासिलो पार्टी बनाउने कार्य गरिरहेका छौं । यो पार्टी मधेसमा मात्र होइन राष्ट्रिय पार्टीको खाका अनुरुप यसलाई बढाउन चाहान्छौं । पहाडमा पनि हामीले संगठनको प्रारम्भिक अवस्था सुरु गर्ने कुराहरु गरेका छौं । खुम्वुबान , नेपाल जनशक्ति पार्टी पनि हामीमा आएर विलय भएको छ अर्थात खस आर्य र जनजातिलाई पनि हामीले समेटेका छौ । त्यस अनुरुप हामी राजपालाई राष्ट्रिय पार्टीको स्वरुप दिन चाहान्छौं । खासगरि उत्पीडित वर्गले सुविधा व्यवहारिक रुपमा दिलाउन उनीहरुको अधिकारका लागि राजपाले जहिल्यै संघर्ष गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार