इलाममा हुने १ नं. प्रदेशस्तरीय युवा महोत्सवको सम्पुर्ण तयारी पुरा

इलाम : जिल्ला युवा समितिको कार्यालय, इलामको आयोजनामा असार १४–१६ गतेसम्म इलाममा हुने ‘१ नं. प्रदेशस्तरीय युवा महोत्सव” को सम्पुर्ण तयारी पुरा भएको छ ।

महोत्सव लाई सम्पन्न गर्नका लागि ११ सदस्यीय मूल समारोह समिति र १४ वटा उपसमितिहरु गठन गरिएको छ ।
महोत्सव सम्पन्न गर्नकालागि १९ लाख ८५ हजार रुपैयाको हाराहारीमा लाग्ने र महोत्सव उदघाटन प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले गर्ने बताइएको छ ।

महोत्सवमा पहिलो दिन इलाम सदरमुकाममा मिनी म्याराथुन, महोत्सव उद्घाटन कार्यक्रम र सांस्कृतिक कार्यक्रम हुने छ भने दोस्रो दिन युवा कवि सम्मेलन, १ नं. प्रदेशस्तरीय युवा सम्मेलन, युवा परियाद् र जिल्ला युवा समितिको कार्यालयहरुबीच अनुभव आदान–प्रदान र सांस्कृतिक कार्यक्रम गर्ने बताइएको छ ।

महोत्सवको तेस्रो दिन मैत्रीपूर्ण क्रिकेट, युवा गजल मेला, प्रदेशका युवा उद्यमीबीच अनुभव आदान–प्रदान, सांस्कृतिक कार्यक्रम र समापन समारोह हुने आयोजक जिल्ला युवा समितिको कार्यालय इलामले बताएको छ ।

इलाम सदरमुकामस्थित चोक बजारमा महोत्सवका २५ वटा स्टलहरु रहने बताइएको छ । प्रदेश नं. १ का १४ वटै जिल्लाहरुको प्रतिनिधित्व हुनेगरी स्टलहरु राखिने बताइएको छ । महोत्सवले इलामको पर्यटन क्षेत्रमा बिशेष टेवा पुग्ने बिश्वास गरिएको युवा समितिको कार्यालय इलामका अध्यक्ष नवराज शंकरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार