इलाममा निः शुल्क स्वास्थ्य सेवा लिनेको संख्यामा वृद्धि , असारबाट बजेट सकिदै

 सुजता सुनुवार

इलाममा नि ः शुल्क स्वास्थ्य सेवा लिनेको संख्यामा वृद्धि भएको छ । जिल्लाको इलाम नगरपालिकामा रहेको इलाम अस्पतालमा ज्येष्ठ , गरिब, असहाय लगायत १२ प्रकारका समस्यामा परेका बिरामीलाई २५ देखि शतप्रतिशतसम्म अस्पतालबाट दिइने स्वास्थ्य सेवाहरु निःशुल्क पाउने सेवा लिने व्यक्तिको संख्या बढेर गएको हो ।

सामाजिक सेवा एकाइ व्यवस्थापन समिति प्रमुख बाचसपति भट्टराईका अनुसार , सेवा सुरु भएदेखि हालसम्ममा एक सय ८० जनाले सेवा लिएका छन् । जसमा ९० महिला र ९० जना पुरुष रहेका छन् ।

सेवा लिनेमा वैशाखमा ४४ महिला र ३५ पुरुष गरी ७९ जना , जेठ महिनामा ३८ पुरुष र ३२ महिला गरी ७० जना र सेवा सुरु भएको महिना १७ पुरुष र १४ महिला गरी ३१ जनाले सेवा लिएको समिति प्रमुख भट्टराईले जानकारी दिनु भएको छ ।

सेवा लिनेमध्ये ज्येष्ठ नागरिक ९० , गरिब ६८ , अपाङ्ग आठ , प्रहरीबाट ल्याइएका थुनुवा सात , महिला स्वयमसेविका चार , असहाय दुई र लैङ्गिक हिंसा पिडित एक जना रहेको अस्पतालले जानकारी दिएको छ । हालसम्म रेफरका केस भने नआएको जनाईएको छ ।

इलाम अस्पताल इलाममा सामाजिक सेवा एकाइ स्थापना गरी सेवा यहि चैत्र महिनाबाट लागु भएको हो । आधारभूत र आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने हकबाट नागरिकलाई वञ्चित हुन नदिन यस्तो एकाइ स्थापना गरिएको हो ।

अत्यन्तै गरीब असहायलाई जिल्ला अस्पतालमा खान बस्न र जिल्ला बाहिरका अस्पतालमा रेफर गर्नु परेमा अस्पतालसम्मका लागी एम्बुलेन्सको सेवा समेत निःशुल्क दिइने सुविधाको व्यवस्था समितिले गरेको थियो ।

सेवा प्रदान गर्नका लागी चालु आर्थिक वर्ष २०७४÷७५ मा ९ लाख ५९ हजार रुपैंयाँ बजेट सरकारबाट विनियोजन भएको थियो । सेवा लिनेको संख्यामा वृद्धि भएका कारण विनियोजित रकम सकिन आटेको प्रमुख भट्टराईले बताउनु भयो ।

उहाँका अनुसार , अब भने सतप्रतिशत छुटको सेवा कटौती गर्ने , ५० प्रतिशत दिइदै आएको सेवालाई कम गरेर २५ प्रतिशत मात्र सेवा उपलब्ध गराउने योजना बनाइएको छ । सरकारले आव ०६९÷७० देखि देशभर एकाई राख्ने योजना बनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार